Welcome to Hilihang Rural Municipality!! 

हिलिहाङ गाउँपालिका परिचय

संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधानद्वारा आत्मसात गरिएको संघीय शासन प्रणाली अनुरुप राज्य पुन: संरचनाबाट पाँचथर जिल्लाका साविक ४ गाउँविकास समितिहरु (भारपा, सुभाङ, पन्चमी, अमरपुर) को पुनर्गठनबाट संविधानले परिकल्पना गरेको स्थानीय तहको रुपमा हिलिहाङ गाउँपालिकाको गठन भएको छ । प्रशासनिक रुपमा ७ ओटा वार्डमा विभाजन गरिएको यस गाउँपालिकाको केन्द्र साबिक पञ्‍चमी गा. वि. स. हाल हिलिहाङ गा. पा. वडा नं 4 मा रहेको छ । यस गाउँपालिकाको प्रथम स्थानिय निर्वाचन पछि निर्वाचित अध्यक्ष श्री भुवानी प्रसाद लिङदेन हुनुहुनछ भने उपाध्यक्ष श्री सुमित्रा उप्रेती (सेढाई) हुनुहुन्छ । परापूर्व कालदेखि बसोवास गर्दै आइरहेका किराँत जातिहरुको धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्वको यस दरवार क्षेत्रलाइ देश तथा विश्‍वसामु चिनाउने उद्देश्यको साथ यस गाउँपालिकाको नाम हिलिहाङ गाउँपालिका राखिएको हो ।

भौगोलिक रुपमा यो गाउँपालिकाको सीमाना पूर्वमा फालेलुङ गाउँपालिकाको प्रशिद्ध आगेजुङ गुम्बा र  याङवरक गाउँपालिका संग जोडिएको छ भने, पश्‍चिममा पाँचथर र तेह्रथुमको सिमानामा बग्‍ने तमोर नदी, उत्तरमा पाँचथर र ताप्लेजुङको सिमानामा बग्‍ने काबेली नदी र दक्षिणमा फिदिम नगरपालिकासँग सिमाना जोडिएको छ । १२३.०१ वर्ग किलोमीटरमा फैलिएको यस गाउँपालिकाको कुलजनसङ्ख्या २२,९५४ रहेको छ । विभिन्‍न धर्मावलम्बी, जात-जाति तथा बहुसाँस्कृतिक बनौट भएको यस गाउँपालिकामा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुता परापुर्वकालदेखि रहि आएको छ । प्राकृतिक रुपमा यस गाउँपालिकाको सीमा भित्र अत्यन्तै रमणीय पर्यटकिय स्थलहरु पर्दछन । पर्यटकिय क्षेत्र जोरपोखरी, आगेजुङ गुम्बा, हिलिहाङ दरबार क्षेत्र, भोटे गढि,  किराँत माङहिम लगायतका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका सम्पदा हरुले यस गाउँपालिकाको शोभा बढाएको छ ।

       नेपाल एकिकरण हुनुपूर्वनै पल्लो किराँतको नामले चिनिएको यस क्षेत्रमा थुप्रै साना राजा रजौटाहरु रहेका र ति मध्ये हस्तपुर याङवरक यकका शक्तिशाली राजाको रुपमा राजा हिलिहाङ रहेको यहाँका ऐतिहासिक तथा पुरातात्वीक संरचनाहरुले प्रमाणित गर्दछ । हिलिहाङ राजाको पालामा बनाईएको दरबार क्षेत्र हाल सम्म पनि स्थानिय, हिलिहाङ फाउण्डेसन तथा विभिन्‍न संघ संस्थाहरुको प्रयास स्वरुप संरक्षण भईरहेको अवस्था छ । हिलिहाङ गाउँपालिकाको नीति तथा कार्यक्रममा पर्यटन सम्बन्धी नीति अन्तर्गत यस दरबार क्षेत्रको विकासका लागि गुरू योजना बनाउने तथा यस क्षेत्रको संरक्षण गरी हिलिहाङ दरबार संग्रहालय समेतको स्थापना गर्ने रहेको छ । समुद्री सतह बाट करिब १२ देखि १४ सय मिटर उँचाईमा अवस्थित साबिक पाँचथरको नागी, अमरपुर र पञ्‍चमी गा. वि. स. को सिमानामा यो दरबार क्षेत्र करिब १२-१३ सय रोपनिमा फैलिएको छ ।